केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
काठमाडौँ, २५ कात्तिक – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ। बैंकले एक सूचनामार्फत उक्त रकम एक वर्षका लागि लगानी गर्न लागिएको जनाएको हो।
सूचना अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकहरूमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा रु ५५ करोड ५० लाख, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा रु १८ करोड ५० लाख बराबरको लगानी गर्न लागिएको छ।लगानीका लागि पात्र बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकका तोकिएका सर्तहरू पूरा गर्नुपर्ने जनाइएको छ।
ती सर्तअनुसार, संस्थाको सञ्चालन अवधि कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कूल पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कूल कर्जाको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्छ।
त्यसैगरी, कर्जा–निक्षेप अनुपात केन्द्रीय बैंकले तोकेको सीमाभित्र हुनुपर्ने र अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान विवरणअनुसार खुद नाफामा रहेको हुनुपर्ने सर्त राखिएको छ। केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई तोकिएको ब्याजदर प्रस्तावसहित आवेदन पेश गर्न पनि आग्रह गरेको छ।

