हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ, २३ कात्तिक — एक साताअघि परेको भारी हिमपात र बढ्दो चिसोका कारण मुस्ताङका उच्च लेक क्षेत्रमा पालिएका याकचौँरीलाई बेँसीका न्यानो स्थानमा झारिएको छ। हिमपातले उच्च लेकका चरनक्षेत्र हिउँले ढाकिएर घाँस र पानीका मुहान जम्न थालेपछि चौँरीपालकहरूले आफ्ना याकचौँरीलाई चिसो र हिमपातबाट जोगाउन बेँसीतर्फ स्थानान्तरण गरेका हुन्।

बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँ पर्न थालेपछि याकचौँरी बेँसीमा झार्ने र बर्खायाममा हिउँ पग्लिएपछि पुनः खर्कमा लग्ने परम्परा रहेको छ। हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार कात्तिकदेखि जेठ महिनासम्म याकचौँरी बेँसीमा झारिन्छ, र वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा चराइका लागि पुर्याइन्छ।

सचिव हिराचनका अनुसार हिउँले चरनक्षेत्र ढाकिँदा याकचौँरीका लागि घाँस र पानीको अभाव हुने र गोठालालाई पनि चिसो र हिमपातले सास्ती दिने भएकाले यस्तो स्थानान्तरण वार्षिक रूपमा गरिन्छ। थासाङ गाउँपालिका–२ को मार्चे लेकका १० घरपरिवारका १० गोठका करिब १,००० याकचौँरी, मुलिखर्क लेकका ८ घरपरिवारका करिब ५०० याकचौँरी, र बतासे लेकका ६ घरपरिवारका करिब ७०० याकचौँरी बेँसीमा झारिएको समितिले जनाएको छ।

थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनका अनुसार मार्चे, मुलिखर्क र बतासे गरी तीनवटै लेकमा २४ चौँरीगोठ रहेका छन्। मार्चे लेकमा सशस्त्र प्रहरी बल र भेटेरिनरी अस्पतालको सहयोगमा नयाँ घम्ती गोठ निर्माण भएको पनि उहाँले बताउनुभयो। थासाङ गाउँपालिकाका कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन गर्दै आएका छन्।

घरपझोङ–४, जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब ५०० भन्दा बढी चौँरी हिमपातपछि ठिनी गाउँमाथिको लेकबाट तलको पारिलो स्थानमा झारिएको छ। शेरचनका अनुसार हिउँदयाममा उच्च लेकमा घाँस र खानेपानीको अभाव हुने भएकाले चौँरी बेँसीमा झार्नुपर्छ। घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका सात घरपरिवार चौँरीपालनमा संलग्न छन्।

त्यसैगरी माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्या र वडा–४ ध्ये गाउँका दुई घरपरिवारले करिब पाँचवटा याकचौँरीपालन गर्दै आएका छन्। बर्खायाममा उच्च लेकको कराङमा रहेका ती चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा झारिएको कर्मा साङ्वो गुरुङले जानकारी दिनुभयो। लोघेकर–४ ध्येका चौँरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएको बताउनुभयो।

त्यस्तै, माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र सम्जुङ क्षेत्रमा पनि परम्परागत चौँरीपालन जारी छ। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो परम्परा संकटमा पर्न थालेको छ। हिउँ नपर्ने, चरनक्षेत्रमा घाँस अभाव हुने, र हिमचितुवालगायत वन्यजन्तुको आक्रमण बढ्दै जाँदा याकचौँरीपालन झन् कठिन बन्दै गएको समितिको भनाइ छ।

चौँरीपालनमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिन थालेको छ — कहिले अत्यधिक हिमपात, कहिले हिउँ नै नपर्ने अवस्थाले घाँस उत्पादन र पानीको उपलब्धतामा असर पारेको छ। मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ, छुर्पीलगायतका परिकार बनाउँछन्। चौँरीको पुच्छर धार्मिक प्रयोजनका लागि प्रयोग गरिने भएकाले यसको बजार मूल्य पनि उच्च छ।

यहाँका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा चौँरीको आलो रगत निकालेर दोहोरो आम्दानी गर्ने गर्छन्। वयस्क याकचौँरी मासुको रूपमा पनि प्रयोग गरिने भएकाले एउटा याकको मूल्य रु १ लाखदेखि १ लाख ५० हजार सम्म पर्छ।

📸 तस्बिर सौजन्यः सन्दीप गुरुङ

Facebook Comments Box