हिल्साको तापक्रम माइनस ८ डिग्री सेल्सियस

हुम्ला, २३ कात्तिक  –  नेपाल–चीन सिमानामा पर्ने हुम्लाको नाम्खा गाउँपालिका–५ हिल्सा क्षेत्रमा यतिबेला कडाको जाडो बढेको छ । केही दिनअघि नारा क्षेत्रमा भएको हिमपातपछि हिल्सा क्षेत्रमा तापक्रम ह्वात्तै घट्दै माइनस ८ डिग्री सेल्सियससम्म पुगेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हप्ता अघि हिल्साको तापक्रम शून्य डिग्री आसपासमा रहेकामा हाल माइनस ८ डिग्री सेल्सियस पुगेको छ । बिहान र रातिको समयमा तापक्रम झन् घट्ने गरेको पनि उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष हिउ नपरेकै अवस्थामा तापक्रम माइनसमा झरेको हो ।

गतवर्ष हिल्साको तापक्रम हिमपातपछि मात्रै माइनसमा पुगेको थियो । तापक्रम घटेसँगै खानेपानीका धारामा पानी जम्न थालेको र स्थानीयवासी अधिकांश समय आगो तापेर घरभित्रै बस्न बाध्य भएको हिल्साका स्थानीय कर्मा लामाले बताउनुभयो । “हिउ नपर्दै यति धेरै जाडो बढेको छ, हिउ परेपछि अझ चिसो हुने निश्चित छ,” उहाँले भन्नुभयो ।

हाल हिल्सा क्षेत्रमा यारी नाका भन्सार, अध्यागमन कार्यालय, सशस्त्र प्रहरी सिमा सुरक्षा चौकी, जनपद प्रहरी चौकी, होटेल व्यवसायी तथा स्थानीयवासी स्थायी रूपमा बसोबास गर्दै आएका छन् । चिसो बढेपनि चीनको ताक्लाकोटसम्मको आवतजावत यथावत रहेको छ । चार हजार ६७० मिटर उचाइमा अवस्थित नारा लेक हुँदै हिल्सा जोड्ने सडक हाल पनि सञ्चालनमा रहेको छ । हिमपात भएको समयमा यहाँको तापक्रम माइनस २१ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

Facebook Comments Box