लगातार वर्षाले बीपी राजमार्ग अझै अवरुद्ध

धुलिखेल, १५ कात्तिक – लगातारको वर्षाका कारण बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा खसेका पहिरो र लेदो हटाउन नसकिँदा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्की का अनुसार, शुक्रबार बिहानदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदोका कारण सडक अवरुद्ध छ।

“चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो खसेका छन्,” उनले भने, “त्यस्तै नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा लेदोका कारण सडक आवागमन असम्भव बनेको छ।” माम्तीको तल्लो भागमा गत असोजमा सडक बगेर बनाइएको डाइभर्सनमा पनि लेदो र बाढी पसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

राजमार्ग सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले प्रहरीले यात्रु र सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। पूर्व जाने सवारी काभ्रेको भकुन्डे क्षेत्रमा रोकिएका छन् भने पूर्वबाट काठमाडौं फर्किँदै गरेका सवारी साधन पनि बीचैमा अड्किएका छन्। सडक अवरोधका कारण यात्रुहरू मर्कामा परेका छन्।

Facebook Comments Box