शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा
काठमाडौँ, १५ कात्तिक – मोन्था चक्रवातको प्रभावका कारण शुक्रबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ, जसमा सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार यो मात्रा अति धेरै भारी वर्षा श्रेणीमा पर्छ र वर्षा अझै जारी रहेकाले विशेषगरी कोशी प्रदेशमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।
पछिल्लो २४ घण्टाको विवरणअनुसार झापामा १७५ मिलिमिटर, इलाममा १५८ मिलिमिटर, गोरखामा १९० मिलिमिटर, सप्तरीमा १५६ मिलिमिटर, उदयपुरमा १०२ मिलिमिटर, मनाङमा ११५ मिलिमिटर, सुनसरीमा ८२ मिलिमिटर, नुवाकोटमा ८९ मिलिमिटर र लमजुङमा ८२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
विभागका अनुसार शुक्रबार राति पूर्वका कोशी प्रदेश र केही मधेस प्रदेश केन्द्रित वर्षा जारी रहनेछ भने बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा पनि वर्षा हुने सम्भावना छ । राति पछिबाट भने विस्तारै मौसम सुधार हुँदै जाने अनुमान गरिएको छ ।

