विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर, २७ कात्तिक – भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचालित ‘सेनेटरी प्याड वितरण मेसिन’ जडान गर्न थालेको छ। महिनावारीका समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो।
गाउँपालिकाले हालसम्म १२ मध्ये ९ सामुदायिक विद्यालयमा मेसिन जडान गरिसकेको छ। बाँकी विद्यालयमा पनि चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो। “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गर्थ्यौं,” अध्यक्ष राईले भन्नुभयो, “तर धेरै छात्रा लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउँथे। अब यो मेसिनबाट उनीहरूले सहज र गोप्य रूपमा आफैं लिन सक्नेछन्।”
गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक र पाँच आधारभूत विद्यालयमा मेसिन जडान गर्ने योजना बनाएको छ। कार्ड प्रणालीमार्फत छात्राहरूले आवश्यक सेनेटरी प्याड विद्यालयमै लिन सक्ने व्यवस्था गरिएको छ। शिक्षा शाखाका अनुसार, महिनावारीका कारण विद्यालयमा छात्राको उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ।
मेसिन जडान भएपछि छात्राहरूलाई आत्मसम्मानका साथ विद्यालय आउन सहज वातावरण मिल्ने विश्वास शाखाले व्यक्त गरेको छ। गाउँपालिकाले आगामी चरणमा बाँकी विद्यालयहरूमा पनि मेसिन जडान गर्ने र विद्यार्थीहरूका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

