बाढीले तेताङमा १२ च्याङ्ग्रा र ४ खसीको मृत्यु, सिँचाइ कुलो र खानेपानी अवरुद्ध
मुस्ताङ, १४ कात्तिक – वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा गएको बाढीले १२ च्याङ्ग्रा र ४ खसी बगाएर मारेको छ। बिहीबार परेको लगातार वर्षासँगै मङ्च खोलामा आएको बाढीले गाउँबीचबाट बगाउँदा जनधनको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार, बाढीपछि क्षति विवरण संकलन र उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको टोली तेताङ पुगेको छ। उहाँले थप विवरण संकलन भइरहेको जानकारी दिनुभयो।
स्थानीय सोनाम छिरिङ गुरुङका अनुसार, मङ्च खोलाको बाढीले गाउँको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पु¥याएको छ। करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बगाएको र गाउँमा खानेपानी सेवा अवरुद्ध भएको बताइन्छ।
त्यसैगरी, जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुङ्गा खस्दा भवनमा आंशिक क्षति पुगेको छ।
मनसुन सक्रिय रहँदा मुस्ताङका धेरैजसो स्थानमा सडकहरू अवरुद्ध भएका छन्। यस्तो अवस्थामा केही दिनसम्म मुस्ताङ यात्रामा नगइदिन वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गर्नुभएको छ।
यसैबीच, उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा बिहीबार रातिदेखि हिमपात भएको छ। एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार अहिले पनि सामान्य हिमपात भइरहेको छ।
त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा वर्षा जारी रहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिनुभयो। घरपझोङ र थासाङ गाउँपालिकामा पनि मङ्गलबारदेखि निरन्तर वर्षा भइरहेको छ।
स्थानीय मनिता थकालीका अनुसार, उच्च पहाडी क्षेत्रमा हिउँ पर्न थालेको भए पनि बस्ती क्षेत्रमा हिउँ नपरेको बताइन्छ।

