अविरल वर्षाले इलामको राजदुवाली सडकखण्ड अवरुद्ध, मेची राजमार्गमा आवागमन रोक

इलाम, १४ कात्तिक – बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडकका विभिन्न स्थानमा माटो धसिँदा, भासिँदा र चिरिँदा यातायात आवागमन ठप्प भएको हो।

त्यस्तै, तिल्केनी–सिमलगोला–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रशासनले जनाएको छ। यी दुबै सडकखण्डमा सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ।” गएराति कोशी प्रदेशका अधिकांश स्थानमा वर्षा जारी रहँदा अन्य क्षेत्रमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठका अनुसार खोटाङमा पनि एक स्थानमा सडक अवरुद्ध भएको छ। त्यस्तै, अविरल वर्षाका कारण बीपी राजमार्गको काभ्रे खण्ड (चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्के आदि स्थान) मा लेदोसहितका पहिरो खसेका छन्। उनले कोशी प्रदेशबाट गएका सवारीसाधनलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

Facebook Comments Box