बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारको दुई अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौँ, १३ कात्तिक – जापान सरकारले बिपी राजमार्गको पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

आज अर्थ मन्त्रालयमा नेपाल सरकार र जापान सरकारबीच उक्त अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग जापानको सहयोगमा निर्माण गरिएको राष्ट्रिय महत्वको मार्ग हो, जसले राजधानी काठमाडौंलाई पूर्वी तराई क्षेत्रसँग जोड्छ ।

गत वर्षको बाढीपहिरोका कारण राजमार्गका विभिन्न खण्डहरू विशेष गरी रोशी नदी आसपासका भागमा गम्भीर क्षति पुगेको थियो । क्षतिग्रस्त भागहरूको पुनर्निर्माण र मर्मतका लागि यो सहयोग प्रदान गरिएको हो ।

सम्झौतासँगै अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच पनि सम्झौता हस्ताक्षर भएको थियो ।

समारोहमा अर्थमन्त्री खनालले जापानलाई नेपालको विश्वसनीय र दीर्घकालीन विकास साझेदारका रूपमा वर्णन गर्दै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा जापानले पु¥याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यो अनुदान सहयोग नेपाल–जापान मित्रता र सहकार्यको अर्को महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।

जापानी राजदूत मायदाले बिपी राजमार्गका क्षतिग्रस्त खण्डहरूको पुनःस्थापना र सुधारमा यो सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–जापानबीचको दशकौँ पुरानो मित्रता अझ सुदृढ हुँदै जाने आशा पनि व्यक्त गर्नुभयो ।

जाइकाका प्रमुख प्रतिनिधि मिजुकीले नेपाल–जापान सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रमा जाइकाको निरन्तर संलग्नता रहने बताउनुभयो ।समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box