आज साँझदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको पूर्वानुमान

काठमाडौँ, १४ कात्तिक – बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा देखिएको वर्षा र बदलीको अवस्थामध्ये आज साँझदेखि क्रमिक रूपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना कायम रहे पनि आज साँझदेखि क्रमशः मौसम खुल्ने दिशा लिँदैछ। कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आज दिउँसोसम्म पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने सम्भावना छ।

आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनीका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षा र हिमपातको जोखिम भएका स्थानमा बसोबास गर्ने सर्वसाधारण, किसान, यात्रु र सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box