कपिलवस्तु बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते
कपिलवस्तु) १३ कात्तिक – जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकमा पल्टिएको बताइन्छ। दुर्घटनामा करिब ५०–५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको थियो, तर चिकित्सकले बिहान करिब ३ बजे मृत घोषित गरेका हुन्।
बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरू कञ्चनपुर, काठमाडौँ र अन्य स्थानका रहेका छन्। घाइतेमध्ये कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय टेकेन्द्र खत्री, कञ्चनपुर भिमदत्त नगरपालिका–१० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालघारी गाउँपालिका–१ का ३६ वर्षीय भिमबहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका–४ की १४ वर्षीय रितु लोहार रहेका छन्।
घाइतेहरूलाई सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीको भनाइ छ। बसमा करिब ३५ जना यात्रु सवार रहेको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

