राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहा प्रस्थान गर्दै
काठमाडौँ, १२ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुनुहुने भएको छ।
कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो। उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार आयोजित यो सम्मेलन सदस्य राष्ट्रहरूका लागि अत्यन्त महत्त्वपूर्ण हुने बताइएको छ। झन्डै तीस वर्षपछि पुनः आयोजना हुन लागेको यस सम्मेलनको महत्त्व र गरिमा हेरेर नेपालबाट राष्ट्रपतिको सहभागिता हुने भएको हो।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेल र कतारका अमीरबीच द्विपक्षीय भेटवार्ता पनि हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पहिलो विश्व शिखर सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजना गरिएको थियो। यसपटक सम्मेलनको आयोजना कतार सरकारले गरेको हो।
सम्मेलनमा विश्वभर देखापरेका सामाजिक र आर्थिक असमानता, जनसङ्ख्यागत असन्तुलन, प्रविधिको प्रभाव, र समावेशी विकासका विषयमा विभिन्न कोणबाट गहन छलफल हुनेछ। सम्मेलनले सामाजिक विकासका लागि सहकार्य, साझेदारी र साझा प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसङ्घमा १९५५ सालमा सदस्य बनेदेखि नै नेपाल शान्ति, स्थायित्व र विकासका पक्षमा निरन्तर सक्रिय रहँदै आएको छ। हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को सदस्यसमेत रहेको छ।
विश्व शान्तिका लागि सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देशको सूचीमा नेपाल अहिले पहिलो स्थानमा रहेको परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ। राष्ट्रपति पौडेल कतार भ्रमण सम्पन्न गरी कात्तिक २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ।

