उच्च हिमाली भूभागमा भारी हिमपातको सम्भावना
काठमाडौँ, १२ कात्तिक – बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात हुनसक्ने अनुमान गरिएको छ।
सोही अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ। ती नदी प्रणालीका आसपासका क्षेत्रहरू सतर्कता तह नजिक पुग्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने स–साना नदीनालामा समेत आकस्मिक बहाव हुनसक्ने सम्भावना छ।
बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, तथा कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका स–साना नदीमा आकस्मिक बहावको जोखिम उच्च रहेको विभागको भनाइ छ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण नदीमा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दैछ। चक्रवात कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रमा रूपान्तरण भई नेपाल नजिकैको मध्य भूभाग हुँदै पूर्वतर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ।

