अरुण नदीको सतिघाटमा फेरी सेवा पुनःसञ्चालन
भोजपुर, ११ कात्तिक – उत्तरी भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा फेरी सेवा पुनःसञ्चालनमा आएको छ। वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा छ महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।
अरुण नदीमा पक्की पुल नहुँदा स्थानीयवासी सवारीसाधन र दैनिक उपभोग्य वस्तु ढुवानीका लागि फेरीमै निर्भर छन्। वर्षात्को समयमा नदीको बहाव तीव्र हुँदा पाँच महिनाअघि फेरी सञ्चालन रोकिएको थियो। फेरी नचलेका कारण उत्तरी क्षेत्रका यात्रु र बासिन्दा आवतजावतमा ठूलो कठिनाइमा परेका थिए।
फेरी पुनः सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दाले सहज रूपमा नदी पार गर्न पाएका छन्। फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुल प्रयोग गरी पिँठ्यूमा खाद्यसामग्री तथा अत्यावश्यक वस्तु बोकेर नदी पार गर्नुपर्ने बाध्यता थियो। विसं २०७६ देखि सञ्चालनमा आएको यो फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात माध्यम बनेको छ।
स्थानीयवासी दिपेन्द्र श्रेष्ठका अनुसार फेरी सञ्चालन भएपछि दैनिक जीवन सहज भएको छ। “पाँच महिनापछि फेरी चलेपछि निकै राहत मिलेको छ,” उहाँले भन्नुभयो, “फेरी नचल्दा दैनिकी निकै कष्टकर हुन्थ्यो। यहाँ पक्की पुल बने सधैँका लागि यो समस्या अन्त्य हुन्थ्यो।”

