तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके, ११ कात्तिक – बाँके जिल्लामा उत्पादन हुने तरकारीमा विषादीको मात्रा बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १० किसिमका तरकारीमध्ये सबैमा विषादीको मात्रा अत्यधिक भेटिएको हो।

उहाँका भनाइमा, यी सबै नमुना बाँके जिल्लाकै उत्पादन हुन्। दसवटा नमुनामध्ये नौवटा रायो, माटे, सम्धिनीलगायतका सागमा र एकवटा बोडीमा विषादीको मात्रा पाइएको थियो। चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एक नमुनामा कैफियत फेला परेको थियो। सबै नमुनालाई ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) श्रेणीमा राखिएको उहाँले बताउनुभयो।

प्रयोगशालामा भारतबाट आयात भएका ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका १, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका २, रुपन्देहीका १ र दाङका ७६ नमुना परीक्षण गरिएको थियो।

चौधरीका अनुसार, परीक्षण नतिजा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशतसम्म भएमा ‘यलो लेबल’ (चार–पाँच दिन क्वारेन्टिनमा राखेपछि पुनः परीक्षण गर्दा सुरक्षित देखिए उपभोगयोग्य) र ४५ प्रतिशतभन्दा माथि भएमा ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) भनेर वर्गीकरण गरिन्छ।

नेपालगञ्जस्थित प्रयोगशालामा देशका विभिन्न जिल्लाबाट ल्याइने तथा भारतबाट आयात गरिने तरकारी र फलफूलको विषादी परीक्षण गरिँदै आएको छ। करिब एकदेखि डेढ घण्टाभित्र परीक्षण नतिजा उपलब्ध हुने चौधरीले जानकारी दिनुभयो।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नमुना परीक्षणको संख्या र विषादी फेला पर्ने दर दुवै बढेका छन्। २०८१/८२ मा एक हजार ८८३ वटा नमुना परीक्षण गर्दा १० वटा नमुनामा कैफियत पाइएको थियो, भने अघिल्लो वर्ष २०८०/८१ मा एक हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा विषादीको मात्रा बढी भेटिएको थियो।

चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ४८२ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्दा कुनै पनि नमुनामा कैफियत नदेखिएको चौधरीको भनाइ छ। प्रयोगशालाका अभिलेखअनुसार, आव २०८०/८१ मा सात वटा (तीन ‘यलो’ र चार ‘रेड लेबल’) र आव २०७९/८० मा १६ वटा (छ ‘यलो’ र १० ‘रेड लेबल’) नमुनामा कैफियत पाइएको थियो। नमुना परीक्षणको दायरा विस्तारसँगै विषादी भेटिने संख्या पनि बढ्दै गएको प्रयोगशालाले जनाएको छ।

Facebook Comments Box