उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठपर्व सम्पन्न

काठमाडौँ, ११ कात्तिक – सूर्यदेवप्रति श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको छ। छठ पर्वमा भक्तजनले नदी, तलाउ र पोखरीको किनारमा व्रतव्रती महिलासहित परिवारजन भेला भई गाईको दूध, जल र फूल चढाएर सूर्यदेवलाई अघ्र्य दिने परम्परा छ। बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ व्रत विधिपूर्वक सम्पन्न हुने धार्मिक मान्यता रहेको छ।

पृथ्वीमा जीवनको सञ्चालन र संरक्षण सूर्य र जलबाट हुने भएकाले सूर्यलाई शक्तिको स्रोत र नदीलाई माताको रूपमा पूज्ने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा सूर्यको आराधना गर्दा मनोकामना पूरा हुने विश्वास छ।

यस पर्वमा विवाहित महिलाले पति र परिवारको दीर्घायुका लागि, अविवाहित युवतीले सुयोग्य जोडीको प्राप्तिका लागि र सन्तानहीन दम्पतीले सन्तान लाभका लागि प्रार्थना गर्ने गर्छन्। छठ व्रतले मनोकामना पूरा हुन्छ भन्ने विश्वासमा यो पर्वमा कठोर व्रत बस्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शनिबारदेखि सुरु भएको थियो। चतुर्थीका दिन स्नान गरी चोखो भोजन गरेर व्रत सुरु गर्ने, र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त गर्ने प्रचलन छ।

पहिले विशेषगरी तराई-मधेसका मिथिला क्षेत्रमा सीमित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो। विसं २०६२ मा श्री छठ पूजा समिति औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि राजधानीमा यो पर्वको रौनक झनै बढेको छ।

हाल राजधानीका गुह्येश्वरी, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठ पर्व भव्य रूपमा मनाइन्छ। यस वर्ष पनि यी स्थलहरूलाई बेहुलीझैँ सिँगारिएको थियो। आज बिहान ती स्थानहरूमा हजारौँ भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सम्पन्न गरेका छन्।

छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएझैँ आज बिहान उदाउँदो सूर्यलाई पनि व्रतव्रतीहरूले अघ्र्य दिएका थिए। धेरै भक्तजनले रातभर जाग्राम बसेर छठी माताको पूजा आराधना गरेका थिए।

धार्मिक ग्रन्थअनुसार सर्वप्रथम छठी माताले सूर्यदेवलाई प्रसन्न पार्न यो पर्व सुरु गरेकी थिइन्। महाभारतकालमा द्रौपदीले पाण्डवहरूको अज्ञातवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको जनविश्वास छ। सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, त्यही बेला यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

Facebook Comments Box