काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउन नेपाल–भारत सहमति
रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार बी–३४५ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइनेछ।
यसअघि हवाई मार्गको सीमितताका कारण भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। सहमति कार्यान्वयन भए विमान कम्पनीलाई उडानका थप विकल्प उपलब्ध हुने र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ। तर, नियमित उडान सुरु गर्न प्राविधिक प्रक्रिया र आवश्यक व्यवस्थापनबारे थप काम गर्नुपर्नेछ।
सरोकारवालाले हवाई मार्ग विस्तारले लुम्बिनी क्षेत्रको पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। साथै, भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग लुम्बिनीलाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने अपेक्षा गरिएको छ। भैरहवा विमानस्थलबाट उडान विस्तार हुन सके लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक स्थलमा विदेशी पर्यटकको आवागमन बढ्ने विश्वास गरिएको छ।

