कार्तिक नाच आजदेखि पाटन दरबार डबलीमा सुरु

ललितपुर, १० कात्तिक – ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच आजदेखि सुरु हुँदैछ। करिब तीन सय पचासी वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो नाच यस वर्ष पनि दस दिनसम्म प्रत्येक साँझ नियमित रूपमा प्रदर्शन गरिने भएको छ।

कार्तिक नाच सञ्चालन समितिका अध्यक्ष किरण चित्रकारका अनुसार आजदेखि कात्तिक १९ गतेसम्म प्रत्येक साँझ ७ बजे नाच प्रदर्शन हुने र त्यसका लागि सबै तयारी पूरा भएको छ।

“यो नाच भगवान् विष्णुका १७ कथासँग सम्बन्धित छ। हरेक दिन फरक–फरक कथामा आधारित रहेर ‘लिला’ अनुसार नाच देखाइन्छ,” अध्यक्ष चित्रकारले बताउनुभयो।

उहाँका अनुसार यो परम्परा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नेपाल संवत् ७६१ (वि.सं. १६९७) मा सुरु गर्नुभएको हो।

राजा सिद्धिनरसिंहद्वारा सुरु गरिएको परम्परा

इतिहासअनुसार कार्तिक नाचका सर्जक तथा प्रवर्तक राजा सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय हुनुहुन्थ्यो।

अध्यक्ष चित्रकारका अनुसार सुरुमा यो नाच पाँच दिन मात्र प्रदर्शन हुने गरेको थियो। पछि राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथः प्याखँ’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर प्रदर्शन अवधि १५ दिनमा विस्तार गर्नुभएको इतिहास छ। हाल भने आर्थिक अभाव र तयारीको समय अभावका कारण नाच १० दिनमा सीमित गरिएको छ।

अमूर्त सम्पदाको रूपमा संरक्षण प्रयास

कार्तिक नाच प्रचार–प्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार यो नाच नेपालको अमूर्त सांस्कृतिक सम्पदा हो।
“कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग जोडिएको छ।

नेवार समुदायको समावेशी परम्परा र जातीय सद्भावको प्रतीकका रूपमा यसले समाजमा एकताको सन्देश दिएको छ,” उहाँले भन्नुभयो।

राजोपाध्यायका अनुसार मल्लकालीन समयमा नाच मैथिली भाषामा संवादसहित प्रस्तुत गरिन्थ्यो, तर पछिल्ला वर्षहरूमा नेपाल भाषामा उल्था गरी प्रदर्शन गरिँदै आएको छ।

संसारकै लामो नाट्य परम्परा

इतिहासमा कार्तिक नाचलाई संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा पनि चिनिन्छ। “सुरुमा यो नाच २७ दिनसम्म सञ्चालन हुने गर्थ्यो,” राजोपाध्यायले बताउनुभयो, “तर विसं २००७ को जनक्रान्तिपछि प्रदर्शन अवधि घटाउँदै लगियो। विसं २००८ देखि २०३७ सम्म दुई दिन मात्र — बराह र नरसिंह अवतार — देखाइन्थ्यो।”

विसं २०३८ देखि २०६९ सम्म ८ दिन, विसं २०७० मा १० दिन, र विसं २०७१ देखि २०७६ सम्म १२ दिनसम्म प्रदर्शन गरिएको थियो।
विसं २०७७ मा कोभिड महामारीका कारण दुई दिन मात्र नाच देखाइएको थियो। यस वर्ष फेरि १० दिनको अवधिमा नाच प्रदर्शन हुने भएको छ।

अक्षयकोष र प्रशिक्षणको योजना

नाच संरक्षण समितिले रु १० करोडको अक्षयकोष स्थापना गर्ने योजना अघि सारेको छ। साथै, कलाकारलाई व्यावसायिक रूपमा सुदृढ बनाउने र नयाँ पुस्तालाई भाषा तथा अभिनयमा प्रशिक्षित गर्ने लक्ष्यसमेत लिइएको समितिले जनाएको छ।

“कार्तिक नाच हाम्रो गौरव हो। यसको निरन्तरता र संरक्षण भावी पुस्ताको जिम्मेवारी पनि हो,” अध्यक्ष चित्रकारले भन्नुभयो।

Facebook Comments Box