ट्रम्पद्वारा चीनसहित १४ देश र क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिलाई अघि बढाउँदै चीन र युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। प्रस्तावित योजनाअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनामबाट आयात हुने वस्तुमा ३५ प्रतिशतसम्म तथा अन्य देशका वस्तुमा २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।
अमेरिकी सर्वोच्च अदालतले यसअघि ट्रम्पले घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको बीबीसीले जनाएको छ।
नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो दिशामा अघि बढाउने दाबी गर्नुभएको छ।
तर अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयात लागत बढ्ने, त्यसको भार उपभोक्तामाथि पर्ने र वस्तुको मूल्य वृद्धि भई मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन्। यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने उनीहरूको भनाइ छ। ट्रम्पले अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्ने तथा व्यापार घाटा घटाउने उद्देश्यले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने नीति अघि सार्दै आउनुभएको छ।

