राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान
काठमाडौँ, १० कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपति क्षेत्रअन्तर्गत गुह्येश्वरी मन्दिर अगाडिको बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा सूर्यदेव र छठी माताको पूजा आराधना गरी अर्घ्यदान गर्नुभएको छ ।
राष्ट्रपतिसँगै प्रथम महिला सविता पौडेल पनि उपस्थित हुनुभएको थियो । राष्ट्रपतिलाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा गुह्येश्वरी छठ पूजा समितिका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
देशभर भव्य रूपमा मनाइने छठ पर्वको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा उपस्थित भएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ ।
राजधानीका विभिन्न स्थानमा आज अस्ताउँदो सूर्यको आराधना गरी अर्घ्य दिने तयारी भइरहेको छ । गुह्येश्वरी र गौरीघाट क्षेत्र विशेष गरी भजन–कीर्तन, बत्ती र रंगीन सजावटले उज्यालो र भक्तिभावपूर्ण वातावरण बनेको छ । भक्तजनको भीडसँगै पशुपति क्षेत्र मेलामय देखिएको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीदेखि गौरीघाटसम्मको बागमती किनार, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थ, नख्खु खोला, विष्णुमती र बागमती किनारका विभिन्न स्थानमा छठघाट निर्माण र साजसज्जा गरिएको छ । ती स्थानमा छठी माताको माटोको मूर्ति पनि स्थापना गरिएको छ ।
गुह्येश्वरीमा यस वर्ष विगतको तुलनामा बढी छठघाट बनाइएका छन् — विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी तयार पारिएको छ । एक छठघाटको शुल्क रु १,५०० लिइएको छठ पूजा समितिका अनिल सिंहले जानकारी दिनुभयो ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका व्रतालुहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिने छठ पर्व सम्पन्न गर्छन् । सूर्यपुराणलगायत ग्रन्थअनुसार छठ व्रत गरेमा मनोकामना पूरा हुने विश्वास छ ।
महाभारतकालमा द्रौपदी र पाँच पाण्डवले सूर्यदेवको आराधना गरी अज्ञातवास सफल गरेको उल्लेख पाइन्छ । यही विश्वासका आधारमा आजसम्म पनि छठ पर्व श्रद्धा र भक्ति साथ मनाउने परम्परा चलिआएको छ ।

