अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौँ, १० कात्तिक – देशभर ‘जेनजी’ प्रदर्शनका क्रममा विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये अझै करिब पाँच हजार कैदीबन्दी फरार रहेको पाइएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, प्रदर्शनका बेला देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना बन्दी भागेका थिए ।

तीमध्ये हालसम्म ९ हजार ५८२ बन्दी (९ हजार कैदी र ५८२ बालबन्दी) कारागार फर्किएका छन् भने ४ हजार ९८२ जना अझै फरार छन् ।

फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन सरकारले विशेष अभियान सञ्चालन गरेको छ । फरार कैदी समाजमा सुरक्षा चुनौती बनेपछि गृह मन्त्रालयले सम्बन्धित जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजी, नियन्त्रण र पक्राउ अभियान अघि बढाएको हो ।

सरकारले फरार कैदीबन्दीलाई तुरुन्तै कारागार फर्कन अल्टिमेटम समेत दिएको छ । सुरक्षाकर्मीहरूले देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै फरार कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाउने कार्य जारी राखेका छन् ।

प्रदर्शनको समयमा सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ, बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका कारागारबाट कैदीबन्दी फरार भएका थिए ।

यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीका बाल सुधारगृहबाट पनि बालबन्दी भागेका थिए ।

सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदी गोली लागी मृत्यु भएका थिए । त्यस्तै, नौवस्ता बाल सुधारगृहमा पाँच र डोटीमा एक बालबन्दीको मृत्यु भएको थियो ।

कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई तात्काल कारागार फर्किन सूचित गर्दै आएका छन् । सरकारले दिएको सूचनालाई बेवास्ता गरी लुकेकालाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ ।

हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी तथा बालबन्दी रहेका छन् ।

Facebook Comments Box