फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरू ?

काठमाडौँ, ९ कात्तिक – राजनीतिक दलका नेताहरूले ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता र फरार कैदीलाई पक्राउ गरी मात्रै भयरहित वातावरणमा निर्वाचन सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ ।

उनीहरूले हालको भय र अस्थिरता यथावत रहँदा स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै, सरकारले तत्काल शान्ति–सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

‘लुटिएका हतियार र फरार कैदी फिर्ता गर्नुपर्छ’ — श्यामकुमार घिमिरे, नेपाली कांग्रेस

नेता घिमिरेका अनुसार अहिले भयरहित वातावरण निर्माण भइसकेको छैन । “अपराधजन्य गतिविधि, आगजनी, लुटपाट र तोडफोडमा संलग्नलाई कारबाही नगरी निर्वाचन सम्भव छैन,” उहाँले भन्नुभयो ।

उहाँले प्रहरीबाट लुटिएका सयौँ हतियार अझै बाहिर रहेको र कैदीबन्दी ठूलो सङ्ख्यामा फरार भएकाले सुरक्षाकर्मीको मनोबल कमजोर बनेको बताउनुभयो ।

“जुनसुकै अपराधमा संलग्नमाथि कारबाही हुनुपर्छ । जेल तोडफोडका घटना गम्भीर हुन्, तीलाई बेवास्ता गरी चुनाव गर्ने तयारी गर्नु गलत हो,” उहाँको भनाइ छ ।

उहाँले संविधान संशोधन र निर्वाचन प्रणाली सुधारको आवश्यकता औंल्याउँदै भने, “संविधान परिमार्जन गरेर मात्र अर्थपूर्ण निर्वाचन हुन सक्छ, नत्र फेरि पुरानै नतिजा दोहोरिन्छ ।”

‘सरकारले दललाई विश्वासमा लिनुपर्छ, दलले सरकारलाई सहयोग गर्नुपर्छ’ — माधव सापकोटा, माओवादी केन्द्र

माओवादी केन्द्रका नेता सापकोटाले चुनाव नै अहिलेको राजनीतिक निकास भएको बताए । “लुटिएका हतियार र फरार कैदी नियन्त्रणमा लिनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकारले दलहरूबीच विश्वास कायम गर्दै, प्रहरीको मनोबल उच्च बनाइ कार्यक्षम रूपमा परिचालन गर्न सकेमा तोकिएकै समयमा निर्वाचन सम्भव छ । “दलहरूले पनि सरकारलाई सहयोग गर्नुपर्छ । यो वा त्यो बहानामा निर्वाचन टार्न मिल्दैन,” उहाँको भनाइ थियो ।

‘सहजै जनताको माझमा जाने वातावरण हुनुपर्छ’ — महेश बर्तौला, नेकपा (एमाले)

एमाले नेता बर्तौलाले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई संविधान र लोकतन्त्रको बाटोबाट समाधान गर्न निर्वाचन अपरिहार्य रहेको बताए ।

“हामी निर्वाचनबाट भाग्दैनौं, जनअभिमत स्वीकार गर्छौं,” उहाँले भन्नुभयो । “मतदाताले भयरहित वातावरणमा मत दिन पाउने अवस्था सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्छ ।”

उहाँले सरकार र दलबीच विश्वासको खाडल नहोस् भन्दै भने, “लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदी पक्राउ गर्ने काम प्राथमिकतामा पर्नुपर्छ ।”

‘निर्वाचनका लागि शान्ति–सुरक्षाको प्रत्याभूति हुनुपर्छ’ — रामप्रकाश चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी

चौधरीका अनुसार हतियार बाहिर हुँदा र कैदी फरार रहँदा शान्तिपूर्ण निर्वाचन सम्भव छैन । “पहिला ती हतियार जफत गर्नुपर्छ, फरार कैदी पक्राउ गर्नुपर्छ, अनि मात्रै भयरहित मतदान हुन सक्छ,” उहाँले भन्नुभयो ।

उहाँले राज्य सम्पत्तिमा क्षति पुर्‍याउने र हिंसात्मक कार्यमा संलग्न जो–कोहीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

‘व्यक्ति दोषी, सजाय व्यवस्थामाथि हुनुहुँदैन’ — चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

केसीले ‘जेनजी’ आन्दोलनका मागहरूलाई आंशिक रूपमा सही तरिका भएको बताउँदै अराजकता र हिंसालाई अस्वीकार गर्नुभयो ।“भ्रष्टाचार नियन्त्रण र सुशासनका माग जायज छन्, तर त्यसको नाममा तोडफोड र आगजनी गलत हो,” उहाँले भन्नुभयो ।

उहाँले विदेशी हस्तक्षेपको आशङ्का पनि व्यक्त गर्दै भने, “यस्ता गतिविधिले लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाउँछ, बलियो होइन । व्यक्ति गल्ती गर्छ भने सजाय उसैलाई होस्, व्यवस्थालाई होइन ।”

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी दलहरूले निर्वाचन टार्न नहुने तर शान्ति–सुरक्षाको प्रत्याभूति अत्यावश्यक रहेकोमा एकमत छन् ।

दलहरूबीचको साझा धारणा अनुसार —

  • लुटिएका हतियार फिर्ता,

  • फरार कैदी नियन्त्रण,

  • सुरक्षाकर्मीको मनोबल उच्च,

  • राजनीतिक विश्वास पुनःस्थापना —
    यी पूर्वशर्त पूरा भएपछि मात्रै निष्पक्ष, भयरहित र विश्वसनीय निर्वाचन सम्भव हुनेछ ।

Facebook Comments Box