धानको समर्थन मूल्यका पर्खाइमा किसान

कैलाली, १० कात्तिक – कैलालीका किसान अहिले पनि सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुने आशमा प्रतीक्षारत छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अझै खरिद सुरु नगरेपछि किसानहरू आर्थिक सङ्कटमा परेका छन्।

टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौराले घरखर्चका लागि केही धान रु २,५०० मा बिक्री गर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यले समयमा धान खरिद गरेको भए मैले १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुपर्ने थिएन। १० हजार घाटा खानुप¥र्यो।”

डगौराजस्तै धेरै किसान अहिले खाद्य कम्पनीको पर्खाइमा छन्। कम्पनीले समयमा खरिद नगर्दा किसानहरूलाई घरायसी खर्च र भण्डारणको अभावका कारण सस्तोमा धान बेच्न बाध्य हुनुपरेको छ। भजनी नगरपालिका–३ का किसान श्रवण थारुले भने, “३०–४० क्विन्टल धान हुन्छ, त्यो राख्ने ठाउँ नै छैन। बाध्यताले सस्तोमा बिक्री गर्नुप¥र्यो।”

भजनीका अर्का किसान जयप्रसाद ढुङ्गानाले सरकार किसानका समस्या बुझ्न असफल रहेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार, “चैते होस् वा बर्खे धान, सरकारले तोकेको मूल्यमा समयमा खरिद गर्न सकेको छैन। किसानले आन्दोलन गर्न जान्दैन, त्यसैले पनि समस्या सम्बोधन हुँदैन।”

कैयौँ किसानले अहिले सम्म धान खेतमै राखेका छन्। भजनीका जितबहादुर चौधरीले भन्नुभयो, “आजसम्म खाद्यले समयमा धान खरिद गरेको कुनै वर्ष छैन। यसपालि पनि त्यही हो जस्तो छ। अब सस्तोमै बेच्नुपर्ने अवस्था आउँदैछ।”

खाद्य कम्पनीले धान खरिदमा चासो नदेखाएको भन्दै किसानहरूको असन्तुष्टि बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छिटो खरिद सुरु गर्न आग्रह गरेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहितको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र खरिद कोटा बढाउन कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ।

सरकारी स्वामित्वको खाद्य कम्पनीले धान खरिद सुरु गरेपछि व्यापारीहरूले पनि मूल्य बढाउने परम्परा रहेको किसानहरूको भनाइ छ। खाद्य कम्पनीले टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढीको मोहनपुरमा रहेको छ वटा डिपोमार्फत धान खरिद गर्दै आएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भने खरिद केन्द्रहरूमा तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार, “केन्द्रबाट कोटा निर्धारणसहितको परिपत्र पठिएलगत्तै खरिद सुरु हुनेछ।” यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य रु ३,६२८.३३ तोकेको छ।

Facebook Comments Box