काठमाडौँ महानगरपालिकाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ, ८ कात्तिक – काठमाडौँ महानगरपालिकाले ४५ वर्षभन्दा माथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र अनुभवलाई समाज तथा सहर विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।
कामपा शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाका अनुसार, लामो समय विभिन्न क्षेत्रमा सेवा, काम वा व्यवसाय गरेर अनुभव प्राप्त गरेका नागरिकलाई अवकाशपश्चात पनि देश र समाजको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो।
बास्तोलाले भन्नुभयो, “यदि तपाईंको उमेर ४५ वर्ष पूरा भइसकेको छ, जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ, र अझै पनि समाजका लागि केही योगदान गर्ने इच्छा छ भने — आउनुहोस्, सँगै महानगरको विकासमा हातेमालो गरौँ।”
कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास र सम्पदा संरक्षणलगायतका क्षेत्रमा स्वयंसेवी रूपमा कामपाको सहयोगमा काम गर्न सकिने जनाइएको छ।
महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको छ। उक्त कार्यविधिअनुसार ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेका नेपाली नागरिक, गैरआवासीय नेपाली वा कानुनबमोजिम स्वीकृति प्राप्त विदेशी नागरिक सहभागी हुन सक्नेछन्।
त्यसका लागि कम्तीमा २० वर्ष कुनै सरकारी, निजी वा गैरसरकारी संस्थामा काम गरेर विषयगत दक्षता हासिल गरेको हुनुपर्ने, एक वर्ष अवधिभर हप्तामा न्यूनतम पाँच घण्टा सेवा दिन सक्ने, शारीरिक तथा मानसिक रूपमा सक्षम र स्वयंसेवा गर्न इच्छुक हुनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको तथा जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइने महानगरले जनाएको छ।
कामपाको भनाइअनुसार, यस कार्यक्रमले परिपक्व नागरिकको अनुभव र सीपलाई सहर विकासमा प्रयोग गर्ने अवसर प्रदान गर्नुका साथै स्वयंसेवामार्फत उनीहरूलाई सन्तुष्टि र समाजसेवाको माध्यमबाट आत्मसन्तोष दिलाउनेछ।
इच्छुक व्यक्तिहरूले कार्यक्रमबारे थप जानकारीका लागि ९८४८०१८२१५ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

