तीन प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौँ, ८ कात्तिक – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको नलगाड–मैनताडा प्रसारण लाइन निर्माण अनुमति प्रदान गरेको जनाएको छ।

करिब ७५ किलोमिटर लम्बाइ र ४०० केभी क्षमता भएको सो प्रसारण लाइनले २,४०० मेगावाट बराबरको विद्युत् प्रवाह गर्न सक्ने विभागले जानकारी दिएको छ। सो लाइनको निर्माण कार्य राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गर्नेछ। यस्तै, विभागले ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ।

करिब ४.३८ किलोमिटर लम्बाइको सो लाइनले ४.८ मेगावाट बराबरको विद्युत् प्रवाह गर्नेछ। जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि सो प्रसारण लाइन निर्माण हुने भएको हो। त्यसैगरी, सुपर सर्दी खोला हाइड्रोपावरले उत्पादित बिजुली प्रणालीमा जोड्नका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ।

यस लाइनबाट २.९ मेगावाट बराबरको विद्युत् प्रवाह हुने अनुमान गरिएको छ। विभागका अनुसार, हालसम्म देशभर २७४ वटा साना र ठूला प्रसारण लाइन निर्माणका लागि अनुमति पत्र प्रदान गरिसकिएको छ।

चालु आर्थिक वर्षमा हालसम्म ८ वटा प्रसारण लाइन परियोजनालाई सर्वेक्षण अनुमति पनि दिइएको छ। तीमध्ये १३२ केभी क्षमताको मध्य चमेलिया प्रसारण लाइन, बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, र समुन्द्रटार–लप्सेफेदी २३२ केभी प्रसारण लाइन परियोजना प्रमुख छन्।

त्यसैगरी डाँडाँखेती–बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना समेत सर्वेक्षण अनुमति प्राप्त परियोजनामा परेका छन्। विभागले हालसम्म कूल १४४ वटा प्रसारण लाइनका लागि सर्वेक्षण अनुमति प्रदान गरेको छ। साथै, विभागमा हालसम्म २१ वटा प्रसारण लाइन परियोजनाका आवेदन परेका छन्, जसमा चालु आर्थिक वर्षमै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ।

Facebook Comments Box