बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

म्याग्दी, ७ कात्तिक – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनका लागि पोखरा बसाइमा अभाव थिएन। भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् भने तीन छोरी हङकङ, अमेरिका र पोर्चुगलमा बसोबास गर्छन्। जीवनका उत्तरार्धमा उनी फेरि आफ्नै गाउँ फर्किएका छन्— जहाँ उनले नयाँ सपना बोकेका छन्।

पोखराको रामबजारमा बसेका तिलिजाले २४ वर्षपछि स्थायी रूपमा जन्मथलो फर्कने निर्णय गरे। उनले पोखराको घर आफन्तको जिम्मामा छोडेर श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णासहित स्वाँत फर्किए। “छोरा–छोरी सबै विदेशमा छन्, गाउँमै बस्ने एक आफन्तले वृद्धावस्थामा स्याहार नपाएर दुःख पाएको देखेपछि पैसाले मात्रै जीवन सजिलो हुँदैन भन्ने बोध भयो,” बलबहादुर भन्छन्, “बजारमा त छिमेकीको वास्ता हुँदैन, तर गाउँमा साससँगै सहयोगी भावना बाँचिरहेको छ।”

उनी भन्छन्, “छोरा र बुहारीलाई पनि विदेश जान रोकें, गाउँ ल्याएँ र व्यवसायमा लगाएँ।” त्यसको परिणाम हो — ‘प्यारामिड होटल’, स्वाँतको पहिलो आधुनिक शैलीको होटल। दुई रोपनी पाखो सम्याएर एक करोड ८० लाख रुपैयाँ लागतमा उनले होटल निर्माण गरेका छन्। “गाउँ ल्याएर त्यतिकै राख्न भएन, व्यवसायले तिनीहरूलाई यहाँ बस्ने कारण पनि दियो,” उनी हाँस्दै भन्छन्।

गत हप्तादेखि सञ्चालनमा आएको प्यारामिड होटलले म्याग्दीका अन्य होटलभन्दा फरक पहिचान बनाएको छ। पाहुनाका लागि प्यारामिड आकारका १३ कोठा छन्, जसमध्ये प्रत्येकमा आधुनिक सुविधा छ। “यहाँ हिउँदमा चिसो धेरै पर्छ, त्यसैले जस्तापाटामा हिउँ नथुप्रियोस् भनेर चुच्चो आकारका भवन बनाएका हौं,” तिलिजा बताउँछन्। होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरबाट प्रेरित छ— काठको भित्ताभरि फर्म राखिएको, जसले हिउँदमा न्यानोपन र बर्खामा सितलता दिन्छ।

तिलिजा परिवारका चार सदस्य होटल सञ्चालनमा खटिएका छन्। अतिरिक्त एक जना स्थानीयलाई रोजगारी पनि दिएका छन्। पाहुनाको स्वागतदेखि भान्छासम्म सबै जिम्मेवारी परिवारकै हातमा छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै होटलमा सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा, खसीबोकाको मासु र कोदो–मकैको ढिडोजस्ता परिकार पाइन्छन्।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने स्वाँत गाउँ तातोपानी–घोडेपानी मार्गमा पर्छ। शिख गाउँबाट एक घण्टाको पैदल यात्रामा पुगिने यो स्थानबाट धौलागिरि हिमालको सुन्दर दृश्य देखिन्छ। गाउँ नजिकै रहेको छहरे झरना पनि पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ। दुई हजार तीन सय मिटर उचाइमा अवस्थित गाउँमा इन्टरनेट र तातोपानी स्नानको सुविधा समेत छ।

हाल स्वाँतका ७० घरमध्ये करिब २५–३० परिवार मात्रै स्थायी रूपमा बस्छन्। बाँकी परिवारहरू पोखरा, काठमाडौं, चितवन, बुटवल र बेलायतमा छन्। तर, स्थानीय विद्यालयका प्राचार्य रामचन्द्र पाइजा पुनका अनुसार, यहाँका घरघरमा विद्युत्, खानेपानी, सडक र मोबाइल सुविधा पुगेका छन्। उर्वर जमिनमा आलु र रायो सागको व्यावसायिक खेती सम्भव छ, र यही गाउँ रायोको विउ उत्पादनका लागि परिचित पनि हो।

“रित्तिदै गएको गाउँमा सम्भावना देखाउन फर्किएको हुँ,” बलबहादुर भन्छन्, “अरूले पनि बजारको चमकभन्दा गाउँको सम्भावना हेरेर फर्कुन् भन्ने मेरो सन्देश हो।”  बलबहादुर तिलिजाको उदाहरण गाउँ फर्केर आत्मनिर्भर बन्न खोज्ने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ— जहाँ गाउँ केवल विगतको सम्झना होइन, भविष्यको सम्भावना पनि हो।

Facebook Comments Box