परीक्षाको मुखमा त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी

काठमाडौँ, ८ वैशाख – त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको हो ।

पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि तालाबन्दी गरेका छन् । दुवै क्याम्पसको ताला अहिलेसम्म पनि खुल्न सकेको छैन । क्याम्पसहरूमा लगाइएको तालाबन्दी नखुल्दा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फारम भर्नबाट वञ्चित भएका छन् ।

वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ । तर, लामो समयदेखिको तालाबन्दीका कारण विद्यार्थीहरूले परीक्षा फारम भर्न पाएका छैनन् । जसले गर्दा उनीहरू परीक्षा दिनबाट वञ्चित हुन देखिएको छ । नेविसंघ पाटन संयुक्त क्याम्पसका सभापति तारा शर्माले विभिन्न माग राखेर ३२ दिनदेखि तालाबन्दी गरिएको बताए ।

शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, क्यान्टिनको व्यवस्था गर्नुपर्ने, बीएससी सीएसआईटीका लागि कम्प्युटरको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट तालाबन्दी गरिएको शर्माले बताए ।

Facebook Comments Box