धुलिखेल अस्पतालमा इन्टर्नसिम गर्न आएका दुई विदेशी युवती काभ्रेमा लुटिए

काभ्रे, ९ असोज – धुलिखेल अस्पतालमा इन्टर्नसिम गर्न आएका दुई विदेशी युवती काभ्रेमा लुटिएका छन्। उनीहरुलाई लुटपाट गर्ने तीनजना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। मंगलबार साँझ बनेपा नगरपालिका- ६ भ्युटावरस्थित १६ सय सिँडिमा इभिनिङवाकमा निस्केको अवस्थामा इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए।

उनीहरुलाई चक्कुदेखाउँदै लुटपाट गरेको आरोपमा तीनजना किशोर पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका- ६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा- ९ जनागाल बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका- ९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल छन्।

उनीहरुले ती दुई विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए। लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए। उनीहरुको साथबाट लुटेका सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए। १ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका- ७ उग्रचण्डि पेट्रोलपम्प पछाडीबाट सोही राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको छ।

Facebook Comments Box