केराका थामबाटै आम्दानी
महोत्तरी, २ कात्तिक – मधेसको महोत्तरीसहितको मिथिला क्षेत्रका अधिकांश पर्व कृषि–मैत्री मानिन्छन्। यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक चाडपर्वमा कृषि उपजको विशेष महत्व रहँदै आएको छ। तीमध्ये तिहार र छठ पर्वमा त विभिन्न कृषि उपज पूजाका सामग्रीका रूपमा अनिवार्य हुने गर्छन्। यही कारणले यी पर्वमा किसानहरूलाई अतिरिक्त आम्दानीको अवसर मिल्ने गरेको छ।
तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य रूपमा प्रयोग हुने सामग्री हो। विशेष गरी छठमा सूर्यदेवलाई अर्घ दिन प्रयोग गरिने केराका घरी (थाम)को माग निकै बढ्ने गर्छ। तिहारमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजाका अवसरमा प्रवेशद्वार बनाउन केराका थाम प्रयोग गर्ने परम्पराले यसको बजार अझै फस्टाएको छ। यसरी केराका कोथाहरू बेच्न पाउँदा किसानले नगद आम्दानीसँगै अतिरिक्त लाभ पाउने गरेका छन्।
भङ्गाहा–४ का किसान रामधारीसिंह थारू भन्छन्, “मैले यसपालि थामबापत पाँच हजार रुपैयाँको अग्रिम रकम पाइसकेको छु। तिहारमा फाल्नुपर्ने कोथाबाटै आम्दानी हुने भएकाले हामी यो समयको प्रतीक्षा गर्छौं।” किसानहरूको अनुभवअनुसार एक केराका झ्याङमा तीनवटा भन्दा बढी कोथा बढ्न दिनु हुँदैन।
बढी भएका कोथा उखालेर फाल्नुपर्छ, तर तिहार र छठको समयमा त्यही कोथा बिक्री हुने भएकाले त्यो श्रम र खर्च दुबै बच्ने गरेको किसान रामसुनरदेवी राय बताउँछिन्। “यो बेला त कोथा बिक्रीबाट फाल्ने खर्च पनि बच्छ, आम्दानी पनि हुन्छ— हामीका लागि यो नै केराको अमृत बेला हो,” उहाँले भनिन्।
भङ्गाहा–६ सग्रामपुरका किसान सुवालाल राय यादवका अनुसार उनले पछिल्ला तीन वर्षमा कोथा बिक्रीबाट वार्षिक करिब १० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। यसबेला बजारमा स्वागतद्वारका लागि केराका कोथा जोडीको मूल्य करिब तीन सय रुपैयाँसम्म पर्न जाने गरेको छ।
लक्ष्मीपूजाको अघिल्लो दिनदेखि नै केराका थामको बजार महोत्तरीका मुख्य सहरहरू— जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरामा फस्टाउने गर्छ। मिथिला संस्कृतिअनुसार केराका थामबाट बनेको स्वागतद्वार शुभ र फलदायी मानिन्छ। “लक्ष्मी देवी त्यही स्वागतद्वार हुँदै गृह प्रवेश गर्छिन् भन्ने विश्वासले यसको धार्मिक महत्व झन् बढाएको हो,” मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा हाल करिब २८० हेक्टर क्षेत्रफलमा मात्रै व्यावसायिक केराखेती भइरहेको छ। केन्द्रका सूचना अधिकारी अविरलकुमार महतोका अनुसार, “यहाँको माटो र हावापानी केराखेतीका लागि अत्यन्त उपयुक्त छ।
किसानले चासो देखाएमा हामीले उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउने र प्राविधिक सहयोग गर्ने योजना बनाएका छौं।” कृषि उपजसँग जोडिएका मिथिला क्षेत्रका पर्वहरूले किसानका लागि आर्थिक अवसर सिर्जना गर्दै सांस्कृतिक परम्परा पनि जोगाइरहेका छन्।

