काठमाडौँका विभिन्न स्थानमा दुई महिनासम्म भेला र प्रदर्शन निषेध
काठमाडौँ, १ कात्तिक . जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी दुई महिनासम्म राजधानीका विभिन्न स्थानमा भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोध कार्यक्रम गर्न निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्तिको भेला पनि रोक लगाइएको छ।
आदेशमा भनिएको छ— विरोध प्रदर्शनका क्रममा भीड उत्तेजित भई तोडफोड, आगजनी वा अन्य उच्छृङ्खल गतिविधि हुन सक्ने, जसले आपसी मुठभेड र अशान्ति निम्त्याउने सम्भावना भएकाले यस्तो कदम चालिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आजदेखि लागू हुने गरी दुई महिनाका लागि यो निषेधाज्ञा जारी गरिएको हो।
राष्ट्रपति कार्यालय शीतल निवास आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिको भेला, अनसन, धर्ना, घेराउ, जुलुस र प्रदर्शनजस्ता गतिविधि निषेध गरिएको छ। त्यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकदेखि सामाखुशी खोलासम्म, सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्मको क्षेत्रमा पनि निषेध लागू गरिएको छ।
उपराष्ट्रपति कार्यालय रहेको लैनचौर क्षेत्र, केशरमहल चोकदेखि मल्ल होटलको सिमानासम्म, र नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा समेत भेला वा प्रदर्शन गर्न नपाइने उल्लेख छ। सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्याण्ड) देखि सिंहदरबारका विभिन्न गेटहरू हुँदै पुरातत्व विभाग चोक र हनुमानस्थान मन्दिरसम्मको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ।
यस्तै, जिल्ला अदालत परिसर, जिल्ला प्रशासन कार्यालय आसपास, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री र प्रधानन्यायाधीशका निवास तथा राष्ट्र बैंक चोकदेखि पूर्वतर्फ १०० मिटरभित्र पनि कुनै पनि भेला वा प्रदर्शन गर्न नपाइने आदेशमा उल्लेख छ।

