तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि
तनहुँ, १ कात्तिक – तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस (JE) सङ्क्रमण पुष्टि भएको छ। व्यास नगरपालिका–७ निवासी १० वर्षीया बालिकामा यो रोगको पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यससँगै हालसम्म तनहुँमा जापानिज इन्सेफलाइटिस सङ्क्रमितको संख्या तीन पुगेको छ। यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा पनि यो रोग पुष्टि भएको थियो।
सङ्क्रमण देखिएपछि स्वास्थ्यकर्मीहरूको टोलीले जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिनुभयो। जापानिज इन्सेफलाइटिस लामखुट्टेले टोकेर सर्ने र मस्तिष्कमा सङ्क्रमण गर्ने रोग हो। यो रोगले स्नायु प्रणालीमा असर पुर्याउने, बिरामीलाई अङभङ्ग बनाउने र कहिलेकाहीँ मृत्युसमेत हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

