कोशी प्रदेश सरकारद्वारा बाढीपहिरो पीडित परिवारलाई राहत वितरण
झापा, ३० असोज – कोशी प्रदेश सरकारले हालैको बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई राहतस्वरूप रु ३४ लाख ५० हजार वितरण गरेको छ। इलाम, पाँचथर, झापा, सुनसरी, उदयपुर र खोटाङका प्रभावित परिवारलाई यो राहत वितरण गरिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् शाखाका प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार इलाम जिल्लामा वितरण गरिएको छ। असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण इलाममा ठूलो जनधनको क्षति भएको थियो।
सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। विपद्बाट भएको मानवीय क्षतिको खोज, अनुसन्धान र राहत वितरण कार्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ को दफा ९ अनुसार गरिएको प्रमुख भट्टराईले बताउनुभयो।
प्रदेश सरकारले पाँचथरमा रु ४ लाख ५० हजार, भोजपुरमा रु १ लाख, उदयपुरमा रु २ लाख, खोटाङमा रु १ लाख, झापामा रु २ लाख ५० हजार र सुनसरीमा रु २ लाख राहत वितरण गरेको जानकारी उहाँले दिनुभयो।
भट्टराईका अनुसार बाढीपहिरोमा ज्यान गुमाउने प्रत्येक परिवारलाई रु १ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले राहत दिइएको हो। साथै, चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत खाद्य तथा राहत सामग्री समेत वितरण गरिएको छ।
प्रदेश सरकारले इलाममा पहिरोले ध्वस्त बनाएका घरहरू पुनर्निर्माण गर्ने घोषणा पनि गरेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय इलाममार्फत क्षतिको विवरण संकलन भइरहेको विपद् शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो।
इलामलाई प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला ठहर गर्दै सरकारले विपद् प्रतिकार्य, राहत र पुनःस्थापनाका लागि जिल्ला प्रशासनमार्फत थप रु १० लाख उपलब्ध गराएको छ।

