कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कास्की, ३० असोज – गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार भएका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

कारागार विभागले असोज २० गतेभित्र स्वेच्छाले कारागारमा फर्किन आग्रह गरे पनि सो म्यादभित्र नआएकाहरूमध्ये विभिन्न स्थानबाट ८१ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

“भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपछि फरार भएका कैदी तथा थुनुवालाई हामीले कारागारमा फर्किन समय दिएका थियौँ,” उहाँले भन्नुभयो, “तर नआएकालाई खोजतलास गरेर पक्राउ गरेका हौँ।”

पक्राउ परेकामध्ये जबर्जस्ती करणी र लागुऔषध मुद्दाका १६–१६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका आठ जना, ज्यान मार्ने उद्योगका नौ जना, अभद्र व्यवहारका चार जना तथा सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ।

जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माका अनुसार भदौ २४ गतेको घटनामा कुल ७७३ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये अझै दुई सयभन्दा बढी फरार रहेका छन्।

कारागारले असोज १२ गते सूचना जारी गरी फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन समय दिएको थियो। तोकिएको समयमा पनि कारागार नफर्केकामाथि प्रहरीले खोजतलास तीव्र पारेको छ।

कारागार प्रशासनका अनुसार फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनअनुसार कारबाही गरिनेछ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागारका अभिलेख कागजातहरू जलेका थिए। तर कैदीबन्दीको डिजिटल अभिलेख सुरक्षित रहेको र केन्द्रीय नेटवर्कमा पनि सबै विवरण सुरक्षित रहेको प्रशासक शर्माले बताउनुभयो।

Facebook Comments Box