सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : नेता डा. शेखर कोइराला

काठमाडौँ, ३० असोज – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै नेपालीको सहभागीता सुनिश्चित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै डा. कोइरालाले कांग्रेसले जनताको घरदैलोमा पुग्ने यो अवसरलाई उत्साहका साथ सदुपयोग गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “सात दशकको लामो संघर्षपछि निर्माण गरिएको संविधान अहिले अर्धमूर्छित अवस्थामा छ। संविधानको रक्षा र कार्यान्वयनका पक्षमा हामी कहाँ उभिन्छौँ, त्यसले नै भावी राजनीतिक दिशा निर्धारण गर्नेछ।”

डा. कोइरालाले राजनीतिक दल र जेनजी पुस्तासहित सबैले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै वर्तमान सरकारलाई त्यसका लागि जनताले म्यान्डेट दिएको बताउनुभयो।

उहाँले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू तत्काल सरकारले नियन्त्रणमा लिनुपर्ने र त्यस क्रममा जेलबाट फरार भएका अपराधीहरूलाई छिट्टै पक्राउ गरी कानुनको दायरामा ल्याउन आग्रह गर्नुभयो।

आगामी मंसिरमा कांग्रेसको १५औं महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याउँदै डा. कोइरालाले नियमित महाधिवेशनबाट पार्टीमा ताजगी, एकता र नयाँ दिशा आउने विश्वास व्यक्त गर्नुभयो।

“एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तनशील कांग्रेस अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। साथै, २०७९ सालको निर्वाचनका क्रममा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेका वा विद्रोही उम्मेदवारका रूपमा उठेकाहरूमाथि भएको कारबाही फिर्ता गर्न पनि उहाँले माग गर्नुभयो।

Facebook Comments Box