नेपाली सेनाद्वारा सञ्चारकर्मी अभिमुखीकरण तालिम सम्पन्न

धरान (सुनसरी), ३० असोज – नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ।

गत असोज २७ गतेदेखि पूर्वी पृतनाको मुख्यालय इटहरीमा सञ्चालन भएको उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट २३ जना सञ्चारकर्मी सहभागी थिए।

समापन समारोहलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा मात्र होइन, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासहितका क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सेना राष्ट्रिय सुरक्षा र सीमाको रक्षासँगै राष्ट्रिय एकता, शान्ति स्थापनामा अग्रसर रहँदै आएको छ। आपसी सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा सेनाको भूमिका महत्वपूर्ण रहेको छ।”

उपरथी केसीले अभिमुखीकरण तालिमले सञ्चारकर्मीहरूमा सेनाको संरचना, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे सन्तुलित बुझाइ र दृष्टिकोण विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चारदिने तालिममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी र शान्ति स्थापनाका कार्य, विकास तथा निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन र स्थानीय समुदायसँगको सहकार्यजस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो।

सो अवसरमा नेपाली सेनाका कार्यक्रम तथा गतिविधिहरूको प्रचारप्रसारमा योगदान पुर्याउने १३ सामुदायिक रेडियो स्टेशनहरूलाई सम्मान गरिएको थियो।

Facebook Comments Box