नर्सिङ तथा स्वास्थ्यकर्मीको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २७ असोज – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, सामुदायिक र निजी अस्पतालहरूलाई पत्राचार गर्दै सो निर्देशन पठाएको हो।

उहाँले भन्नुभयो, “यसअघि पनि मन्त्रालयले निर्देशन दिएको भए पनि कतिपय संस्थामा कार्यान्वयन नभएको गुनासो आएको कारण फेरि स्पष्ट निर्देशन दिइएको हो।”

हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सिङकर्मीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्।

मन्त्रालयले तोकिएको समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।

त्यसैगरी, मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार प्रणालीमार्फत मात्र कर्मचारी राख्नुपर्ने, ज्यालादारी प्रणालीमा काम गराउन नपाइने र कर्मचारीको सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नहुने स्पष्ट गरेको छ।

साथै, नर्सिङलगायतका स्वास्थ्यकर्मीको पारिश्रमिक अनिवार्य रूपमा बैङ्किङ प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

Facebook Comments Box