पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप

काठमाडौँ, २७ असोज – हैजा प्रभावित पर्सा जिल्लामा हालसम्म २१ हजारभन्दा बढी जनाले हैजा विरुद्धको खोप प्राप्त गरेका छन्। जिल्लाका पाँच स्थानीय तहमा सञ्चालन भइरहेको खोप अभियानअन्तर्गत २१ हजार १९६ जनालाई खोप लगाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार पर्सामा हैजा विरुद्धको खोपका लागि ६ लाख ५२ हजार जनालाई लक्षित गरिएको छ। “हालसम्म पाँच स्थानीय तहमा गरी २१ हजारभन्दा बढी जनाले खोप लगाइसकेका छन्,” डा. गौतमले बताउनुभयो।

जगरनाथपुर गाउँपालिकामा ३२ हजार ५३ लक्षित जनामध्ये १७५ जनाले, सखुवा प्रसौनीमा ३५ हजार १७९ मध्ये ४ हजार ९९९ जनाले, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ मध्ये नौ हजार ५१३ जनाले, पोखरियामा ३७ हजार ८७४ मध्ये चार हजार ८७६ जनाले र धोवीनी गाउँपालिकामा २२ हजार ५४२ मध्ये दुई हजार ५३३ जनाले खोप लिएका छन्।

खोप अभियानको सुरुवात आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर गरिएको थियो। सरकारले हैजाको जोखिम उच्च देखिएको पर्सा र बारामा विशेष खोप अभियान सञ्चालन गरेको हो।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलमा पहिलो पटक हैजाका बिरामी फेला परेपछि पर्सा र बारामा हालसम्म एक हजार ६८५ संक्रमित फेला परेका छन्।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पर्सा र बारा जिल्लाका लागि १० लाख १८ हजार १०० मात्रा हैजा विरुद्धको खोप पठाएको छ। दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।

हाल पर्साका १४ वटै स्थानीय तह र बाराका ६ वटामा खोप अभियान विस्तार हुँदैछ। खोप शाखा प्रमुख डा. गौतमका अनुसार स्थानीयवासी सक्रिय सहभागिताका साथ खोप अभियानमा सहभागी भइरहेका छन्।

Facebook Comments Box