मेची राजमार्ग अवरुद्ध भएपछि जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत सवारी सञ्चालनको तयारी
इलाम, २७ असोज – अविरल वर्षापछि आएको बाढीले मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा तिल्केनी–सिमलगो सडकखण्ड हुँदै सवारी सञ्चालनको तयारी थालिएको छ।
जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत साना सवारी सञ्चालनका लागि तयारी भइरहेको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार, आइतबारदेखि नै सडक डिभिजन कार्यालय इलाममार्फत धमाधम डाइभर्सन निर्माणकार्य भइरहेको छ।
माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा हाल १० वटा ह्युम पाइप राखी डाइभर्सन निर्माण भइरहेको छ।
डाइभर्सन र पहुँच मार्ग निर्माण कार्य आज साँझसम्म सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो।
गत असारमा निर्माण गरिएको बेलिब्रिज यही असोज १८ गतेको वर्षा र बाढीले बगाएपछि उक्त सडकखण्डमा आवागमन अवरुद्ध भएको हो। सो खण्ड इलाम सदरमुकामको तिल्केनी क्षेत्रलाई मेची राजमार्गको गोदकसँग जोड्छ।
प्रजिअ नेपालका अनुसार आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ। तत्कालका लागि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्गमा साना सवारी चलाइएको थियो।
पहिरोका कारण अवरुद्ध मेची राजमार्गले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा मालसामान ढुवानीमा समस्या उत्पन्न भएको छ।
सडक डिभिजन प्रमुख भट्टराईका अनुसार “जोगमाई खोलामा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, आजदेखि नै साना सवारी सञ्चालन गर्ने तयारी छ।”
ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ। उहाँले तीव्र मोड र साँघुरो सडकका कारण ठूला सवारी सञ्चालनमा कठिनाइ हुने बताउनुभयो।

