तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै
काठमाडौँ, २६ असोज – तिहार सुरु हुन अझै केही दिन बाँकी छ, तर राजधानीका बजारहरूमा पहिले नै किनमेल गर्नेको भीड बढ्न थालेको छ। यस वर्ष तिहार कात्तिक २ गतेदेखि सुरु हुँदैछ। आगामी पर्वका तयारीमा उपभोक्ताले आवश्यक सामग्री पहिले नै किन्न थालेकाले काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमि लगायत क्षेत्रका बजारमा रौनक छाएको व्यापारीहरू बताउँछन्।
असनका व्यापारी भाइकाजी मर्हजनका अनुसार उपत्यका बाहिर जानेहरू समेत अहिले माटोका पाला (दियो), झिलीमिली बत्ती, सप्तरङ्गी टीका, मखमली माला, लक्ष्मी पूजाका सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किन्न बजार धाउन थालेका छन्। “तिहार नजिकिँदै जाँदा किनमेल गर्नेको भीड बढ्दै गएको छ, त्यसले बजारमा रौनक ल्याएको छ,” उहाँले भन्नुभयो।
तिहार लक्षित गरेर साना र ठूला पसलदेखि सपिङ सेन्टरसम्मले विभिन्न छुट र अफरसहित सामान बिक्रीमा राखेका छन्। साँझपख सडकछेउ र फुटपाथहरूमा पनि तिहारका सामान—दियो, झिलिमिली बत्ती, फूलमाला र घर सजावटका वस्तुहरू सजाएर राखिएको देखिन्छ, जहाँ ग्राहकको घुइँचो लाग्ने गरेको छ।
सुन्धारास्थित फुटपाथमा लुगा बिक्री गर्दै आएकी व्यापारी शान्ति भुजेलले भनिन्, “साँझ र बिदाका दिनमा किनमेल गर्नेको भीड बढ्छ। नयाँ लुगा, झिलिमिली बत्ती र घर सजावटका सामान किन्नेहरू बढी देखिन्छन्, अहिले व्यापार पनि राम्रै चलेको छ।”
इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकाका लागि प्रयोग हुने भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र गिफ्ट आइटमको माग तीव्र रूपमा बढेको छ। “विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा र श्रृङ्गार सामग्री बढी बिक्री भइरहेको छ,” उहाँले थप्नुभयो। यस्तै, चिसो बढ्न थालेसँगै जाडोका कपडाको व्यापार पनि तिव्र भएको व्यापारीहरूको भनाइ छ। उनीहरूले जाडो लक्षित नयाँ कपडा भित्र्याएर बिक्री सुरु गरेका छन्।

