सानोदुम्माका करिब ९० प्रतिशत नागरिकमा विद्युत्को पहुँच
भोजपुर, २६ असोज — पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन्। भौगोलिक रूपमा दुर्गम मानिने यो वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बाल्न सकिएको हो।
वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको काम शून्य अवस्थाबाट सुरु भएको थियो, जुन अहिले अन्तिम चरणमा पुगेको छ। “अब दुई बस्तीका ११ घरमा मात्र बत्ती जडान गर्न बाँकी छ,” उहाँले बताउनुभयो, “त्यो पनि चाँडै पूरा गर्ने तयारी भइरहेको छ।” उहाँका अनुसार केही दुर्गम बस्तीमा पोल र तारको अभावले विस्तारमा केही ढिलाइ भए पनि बाँकी सबै घरमा शीघ्र विद्युत् पु–याएर वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ।
विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयवासीले ठूलो सहजता पाएका छन्। स्थानीय हर्कराज राईका शब्दमा, “अब गाउँ अँध्यारोमुक्त भयो, टेलिभिजन र इन्टरनेट चलाउन पाएका छौँ।” विद्युत्को आगमनसँगै गाउँमा सूचना र सञ्चार पहुँच पनि विस्तार हुँदै गएको र गाउँलेहरू देश–विदेशका समाचार सजिलै थाहा पाउन थालेका छन्।

