गाजामा हमासले बन्धक बनाएको विपिन जोशी बोलिरहेको भिडियो सार्वजनिक

काठमाडौं, २२ असोज – गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भनिएको भिडियो सार्वजनिक गरिएको छ। इजरायली समाचार संस्था द टाइम्स अफ इजरायल ले बुधबार राति सार्वजनिक गरेको भिडियो २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमासको आक्रमणका केही समयपछि खिचिएको बताइएको छ।

उक्त भिडियो इजरायलको रक्षा बल (IDF) ले बरामद गरी जोशीको परिवारलाई उपलब्ध गराएको र यो दृश्य २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको पनि सो समाचारमा जनाइएको छ। ३३ सेकेन्ड लामो भिडियो क्लिपमा जोशी अंग्रेजी भाषामा बोलिरहेका छन्। उनले भनिरहेका छन् — “मेरो नाम विपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको हुँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म ‘सिक्नुहोस् र कमाउनुहोस्’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ र सिट्रस तथा कागती फार्ममा काम गर्छु।”

भिडियो सार्वजनिक भएपछि उनी जीवित रहेको आशा पुनः जागेको छ। तर उक्त भिडियो दुई वर्षअघि खिचिएको हुनाले विपिनको हालको अवस्था भने अझै अस्पष्ट छ। २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी बसेको किबुट्ज अलुमिममा समेत हमला भएको थियो। त्यसक्रममा १० मध्ये ९ जनाको मृत्यु भएको र विपिन जोशी बेपत्ता भएको पुष्टि गरिएको थियो।

Facebook Comments Box