कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन
विराटनगर, २२ असोज – विराटनगरस्थित कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा आएको छ। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त क्लिनिक स्थापना गरिएको हो।
संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाले जानकारी दिनुभयो।
उहाँका अनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान भएपछि उनीहरूलाई छिटो र सहज उपचार उपलब्ध गराउने समन्वयात्मक प्रणालीका रूपमा क्लिनिक सञ्चालन गरिएको हो। अस्पतालले क्लिनिक सञ्चालनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा. महेन्द्रप्रसाद महतो रहनुभएको छ भने सदस्यमा मेडिसिन विभाग प्रमुख डा. सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा. क्षितिज गिरी, अ.न.नि. तथा ओपिडी इञ्चार्ज नविता शर्मा र सिअहेव अधिकृत कामेश्वर परिहस्त (सम्पर्क व्यक्ति) सदस्य–सचिवका रूपमा रहेका छन्।
समितिले अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन र सुविधा उपलब्ध गराउने जिम्मेवारी पाएको छ। साथै, अस्पतालका विभिन्न विभागसँग सहकार्य गरी उपचार प्रक्रिया सहज र छरितो बनाउन आवश्यक योजना तयार पारिने अस्पतालले जनाएको छ।
मेसु डा. झाले भन्नुभयो, “यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको समन्वयात्मक प्रणाली हो, जसले जेनजी आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ छिटो उपचार दिलाउन मद्दत गर्नेछ।”
स्वास्थ्य मन्त्रालयको निर्देशनपछि देशभरका प्रमुख सरकारी अस्पतालहरूमा यस्ता ‘जेनजी क्लिनिक’हरू क्रमशः सञ्चालनमा ल्याइँदै छन्।

