जानकी मन्दिरमा १०१ कोसेली अर्पण

धनुषा, २१ असोज – कोजाग्रत पूर्णिमाको अवसरमा आज जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा १०१ कोसेली (भार) अर्पण गरिएको छ।

महोत्तरीको रतौली गाउँबाट परम्परागत रूपमा ल्याइने उक्त १०१ कोसेली यस वर्ष पनि भक्तिपूर्वक मन्दिरमा अर्पण गरिएको हो। सयौँ वर्षदेखि चलिआएको यो धार्मिक परम्परा निरन्तर रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले जानकारी दिनुभयो।

कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा लक्ष्मीपूजासँग सम्बन्धित विशेष दिनका रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार, आजको रात देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वरदान दिन्छिन्। त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रात पनि भनिन्छ।

रतौलीबाट ल्याइएको भार जानकी मन्दिरमा विशेष पूजाका लागि समर्पित गरिएको छ, जसलाई भगवान् सीता–रामप्रतिको श्रद्धा र भक्ति प्रदर्शनको प्रतीकका रूपमा लिइन्छ।

मिथिला क्षेत्रको सांस्कृतिक एकता र धार्मिक परम्पराको प्रतीक यस प्रथाले स्थानीय समुदायबीच ऐक्यबद्धता बलियो बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताउनुभयो।

उक्त कोसेलीमा पान, मखान, फलफूल, मिठाइ, मखन, दही, चामल, तरकारी, सौँफ, मुमफली र भगवान् राम–जानकीका लागि लत्ताकपडा लगायत सामग्री अनिवार्य रूपमा समावेश गरिन्छ। यस परम्परा अनुसार, बेहुली पक्षले बेहुलाको घरमा भार पठाउने र त्यसबाट ‘चुमाओन’ (आशीर्वाद दिने) विधि पूरा गरिन्छ।

चुमाओन विधिमा बेहुलालाई पाँच प्रमुख स्थानमा पूजा गरेर आशीर्वाद दिइन्छ। पूजापछि सामूहिक भोज र कौडी–पचिसी खेल्ने चलन पनि रहँदै आएको छ। यस अवसरमा मिठाइ र मखन बाँड्ने, तथा मिथिलानीहरूले आफ्ना ज्वाईंका लागि कोसेली पठाउने परम्परा पनि जीवित छ।

जानकी मन्दिरमा विशेष महोत्सव
कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा आज विशेष महोत्सवको आयोजना गरिएको छ। मन्दिर परिसरमा भजन–कीर्तन, हाँस्य–परिहास र दीप प्रज्वलन गरिँदै धार्मिक उल्लासपूर्ण वातावरण सिर्जना गरिएको छ।

महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार, यो परम्परा विगत ११५ वर्षदेखि निरन्तर चल्दै आएको हो। जानकी मन्दिर आज राति श्रद्धालु भक्तजनले भरिएको छ, र सम्पूर्ण मिथिला क्षेत्र श्रद्धा र उत्सवको रंगमा रँगिएको छ।

Facebook Comments Box