भैरहवाबाट अलपत्र यात्रु ल्याउन नेपाल वायुसेवा निगमको विमान उडान

काठमाडौँ, २० असोज । लगातारको खराब मौसम र सडक अवरुद्धताका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान आज भैरहवा गएको छ।

काठमाडौँबाट ८३ यात्रु लिएर गएको निगमको ‘न्यारो बडी ए–३२०’ विमान (उडान नम्बर आरए–१७३१) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर फिर्ता ल्याउने तयारी गरिएको छ। यात्रु सङ्ख्या केही तलमाथि हुन सक्ने निगमले जनाएको छ।

निगमका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा यो चार्टर्ड उद्धार उडान गरिएको हो। बाढी, पहिरो र अवरुद्ध सडकका कारण भैरहवा र आसपासका क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउने उद्देश्यले उद्धार उडान गरिएको निगमले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आज मौसम अनुकूल रहेकाले नियमित उडान पनि सञ्चालन भइरहेका छन्। उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी र अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अहिले विमानस्थलमा ठूलो सङ्ख्यामा यात्रु उडान प्रतीक्षामा रहेको बताए। उनले भने, “विमानको सिट सीमित छ।

केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ। यात्रुलाई गन्तव्यमा पठाउन विमानस्थल निरन्तर प्रयासरत छ।” निगमले यस उद्धार उडानका लागि भाडादर काठमाडौँ–भैरहवा रुटमा रु पाँच हजार र भैरहवा–काठमाडौँ रुटमा रु सात हजार तोकेको छ।

Facebook Comments Box