‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ’
तनहुँ, १९ असोज – तनहुँको भिमाद नगरपालिका–९ भानुमतिका कृषकले सामूहिक रूपमा अकबरे खुर्सानीखेती गरी करिब रु ४५ लाख आम्दानी गरेका छन्। मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत गरिएको अकबरे खुर्सानीखेतीबाट भानुमति कृषक समूहका ३५ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। समूहका अध्यक्ष इमानबहादुर थापाका अनुसार खेतीको विस्तारसँगै यस वर्ष उत्पादन र आम्दानी दुवै सन्तोषजनक भएका छन्।
कृषक अखिल सारु मगरले मात्रै यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट रु सात लाख आम्दानी गर्नुभएको छ। उहाँका अनुसार यो सिजन सकिँदासम्म करिब रु १२ लाख आम्दानी हुने अनुमान गरिएको छ। त्यस्तै, कृषक जयकुमार थापाले रु एक लाख ५० हजारको खुर्सानी बिक्री गर्नुभएको बताउँदै मकै र कोदो खेति हुने बारीमा अकबरे खुर्सानी लगाइएको जानकारी दिनुभयो।
यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे र जौपानीमा व्यक्तिगत र सामूहिक दुवै रूपमा खेती भइरहेको छ। वडालाई अकबरे खुर्सानीको पकेट क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले ५० हजार बेर्ना वितरण गरेको समूह अध्यक्ष थापाले बताउनुभयो।
स्थानिय कृषकहरूका अनुसार अकबरे खुर्सानी खेतीबाट न्यूनतम रु ७० हजारदेखि लाखौँसम्मको आम्दानी भएको छ। “अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले यहाँका कृषकको जीवन मीठो बनाएको छ,” अध्यक्ष थापाले भन्नुभयो। स्थानीय स्तरमा कृषि आत्मनिर्भरता बढाउने उद्देश्यका साथ कृषकहरू अकबरे खुर्सानीखेतीमा आकर्षित भएका हुन्। यस वर्ष यहाँका कृषकले करिब दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य लिएका छन्।
उत्पादित खुर्सानी भिमाद, खैरेनीटार र पोखराका बजारहरूमा बिक्री भइरहेको छ। “बजारको कुनै समस्या छैन, माग धेरै छ,” अध्यक्ष थापाले भन्नुभयो। हाल थोक बजारमा अकबरे खुर्सानी प्रतिकेजी रु ३०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको छ। खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं. ९ ले रु एक लाख अनुदान उपलब्ध गराएको छ।

