सर्लाहीको मनुसमारा क्षेत्रमा २२३ मि.मि. वर्षा, बागमती सिँचाइ ब्यारेजका ३५ ढोका खोलियाे
सर्लाही, १९ असोज – सर्लाहीको बसवरिया गाउँपालिका–५ स्थित मनुसमारा आसपास क्षेत्रमा पछिल्ला २४ घण्टामा २२३.६ मिलिमिटर वर्षा मापन गरिएको छ। लगातारको भारी वर्षाका कारण साना खोल्साखोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा पानीको सतह तीव्र रूपमा बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सदरमुकाम मलङ्गवामा पनि २१५.४ मिलिमिटर वर्षा मापन भएको छ। वर्षा रोक्ने सम्भावना नदेखिएकाले बाढी र डुबानको जोखिम बढेको छ। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले होचो स्थान तथा बागमती, लखन्देही, झिम र बाँके खोलाको किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
त्यस्तै, पानीको सतह बढेसँगै बागमती सिँचाइ आयोजनाअन्तर्गतको ब्यारेजका सबै ३५ ढोका खोलिएको छ। आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहटतर्फका च्यानल नहर बन्द गरी खोलातर्फको ढोका पूर्ण रूपमा खोलिएको हो।
रौतहटको पधेरेदोभानस्थित जल मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ। यस केन्द्रले ६ मिटर सतहलाई खतरा तह र ६.८ मिटरलाई अत्यधिक खतरा तहका रूपमा वर्गीकरण गरेको छ। इन्जिनियर चौधरीका अनुसार हालको बहाव बढ्दो अवस्थामा रहेको र खतरा तह नजिक पुग्ने जोखिम छ।
उहाँले भन्नुभयो, “यदि सतहले खतरा तह पार गर्यो भने बागमती ड्याम र अन्य संरचनामा क्षति पुग्ने सम्भावना रहन्छ।” सो जोखिम न्यूनीकरणका लागि सिँचाइ आयोजनाले माथिल्लो भागमा रहेको सेफ्टी ड्याम फुटाएर ब्यारेज संरचना सुरक्षित गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो।

