महिला क्रिकेटः नेपालसँग मलेसिया पराजित
काठमाडौँ, १८ असोज — अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जीत हासिल गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोलीलाई छ विकेटले पराजित गर्दै शृङ्खलामा पहिलो जित दर्ता गराएको हो। यसअघि पहिलो खेलमा नेपाल तीन रनले मलेसियासँग पराजित भएको थियो।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि पूजा महतोले उत्कृष्ट ३९ रन योगदान दिइन् भने कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन्।
रुबी पोद्दारले १५ रन जोडेकी थिइन्। मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक÷एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले २० ओभरमा चार विकेटको क्षतिमा ९१ रन जोडेको थियो। मलेसियाका लागि आयना हमिजाले सर्वाधिक ५० रन बनाइन् भने कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन योगदान दिइन्। नेपालकी सोमु विष्टले दुई विकेट लिन सफल भइन् भने कविता कुँवरले एक विकेट लिइन्।
यो जितसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ। नेपालले यस शृङ्खलालाई आगामी जनवरीमा घरेलु मैदानमा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप खेलिरहेको हो।

