बस दुर्घटनामा दुईको मृत्यु, ४० भन्दा बढी घाइते

महोत्तरी, १७ असोज – महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस (ना६ख १४६४) लक्ष्मीनारायण मावि नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिनुभयो।

दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बमले बताउनुभयो।

Facebook Comments Box