अत्यावश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह
तनहुँ, १७ असोज – तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त सूचना जारी गर्दै पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ खण्डमार्फत अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म देशभर विशेष गरी मध्य र पश्चिम भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ। सोही पूर्वानुमानलाई दृष्टिगत गर्दै सम्भावित दुर्घटना र सडक अवरोधबाट बच्न सचेत रहन सार्वजनिक अपिल गरिएको हो।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार आगामी २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न, गर्नुपरेमा दिनको समयमा मात्र यात्रा गर्ने र रातमा यात्रा नगर्न अनुरोध गरिएको छ। साथै, यात्रा गर्नु अघि सुरक्षा निकायसँग आवश्यक जानकारी लिएर मात्र अघि बढ्न समेत सुझाव दिइएको छ।
त्यसैगरी, तोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका मालवाहक ठूला सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ। पूर्वानुमानबमोजिम वर्षा भएमा स्थानीय प्रशासनले सडक आवागमन नै रोक्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रु र सरोकारवालामा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सडकको अवस्था, गुनासो वा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक शरणकुमार विक (९८५६०६२२५५), जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल (९८५१२२९८६०) तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।


