माओवादी केन्द्रको केन्द्रीय समिति भङ्ग, मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय
काठमाडौँ, १० असोज – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
बैठकले महाधिवेशन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्यहरू आयोजक समितिका सदस्य रहनेछन्। महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहने गरी सचिवालय निर्माण गर्ने निर्णय पनि गरिएको सापकोटाले बताए।
प्रवक्ता सापकोटाका अनुसार महाधिवेशनमा जेनजी युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने गरी वातावरण तयार गरिनेछ। पार्टीले नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न विशेष आयोग गठन गर्ने र पदाधिकारीबाटै छानबिन सुरु गर्ने निर्णय गरेको छ।
बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ दृष्टिकोणबाट सोच्दै पुनर्संरचना गर्ने निर्णय गरेको छ। साथै, राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर संकटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरिएको छ।
माओवादीले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र पार्टीका क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माण गर्न पहलकदमी लिने घोषणा गरेको छ।
बैठकले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण तयार पार्ने र सम्पूर्ण तयारीमा जुट्ने प्रतिबद्धता जनाएको छ। जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र सामाजिक अराजकताले बढाएको असुरक्षा न्यूनीकरणका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय पनि गरिएको छ।
बैठकको सुरुवातमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि १० वटा समूह बनाएर विस्तृत छलफल भएको र सबै समूहका प्रतिनिधिहरूले प्रतिवेदनलाई समर्थन गरेको सापकोटाले जानकारी दिएका छन्।

